काठमाडाैं। काठमाडौंको भृकुटीमण्डपमा सञ्चालित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (साउन ३१ गते) समापन हुँदैछ। गत साउन २६ गतेदेखि सुरु भएको ६ दिने मेलाको पाँचौँ दिनसम्ममै आयोजकले राखेको डेढ लाख अवलोकनकर्ताको लक्ष्य पूरा भइसकेको छ।
शनिबार मात्रै ४२ हजार जनाले एक्स्पोको भ्रमण गरेपछि कुल अवलोकनकर्ताको सङ्ख्या १ लाख ५० हजार नाघेको आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले जनाएको छ। अवलोकनकर्ताको यो व्यापक सहभागिताले निकै उत्साहित बनाएको अटोसो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले बताएका छन्।
आयोजकका अनुसार एक्स्पोको पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले मेला अवलोकन गरेका थिए।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस दोस्रो संस्करणको एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन्। मेला अवधिभर विभिन्न ब्रान्डका ५३ वटा नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिएका छन्। नेपालमा पहिलोपटक भित्रिएका नयाँ ब्रान्डका साथै नयाँ मोडलका विद्युतीय कार, ई-स्कुटर र विद्युतीय व्यावसायिक सवारीसाधनहरू दर्शकका मुख्य आकर्षण बनेका छन्।
एक्स्पोमा पुगेका ग्राहकहरूले विशेष गरी गाडीको ब्याट्री क्षमता, मोटर, रेन्ज, बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस), ब्याट्रीको वारेन्टी तथा रिसेल भ्यालुजस्ता विषयमा बढी चासो राखेका छन्। कम्पनीहरूले पनि ग्राहकलाई आकर्षित गर्न विभिन्न छुट तथा सुविधाहरू उपलब्ध गराइरहेका छन्। स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता रहेको यो मेला आज साँझ औपचारिक रूपमा समाप्त हुनेछ।




