काठमाडौं । दक्षिणकाली नगरपालिकाद्वारा सञ्चालित दक्षिणकाली नगर अस्पतालले विभिन्न विशेष कार्यक्रमका साथ आफ्नो स्थापना दिवस मनाएको छ। स्थापना दिवसकै अवसरमा आयोजित एक समारोहका बीच अस्पतालमा नयाँ जडान गरिएको इको (ECHO) तथा भिडियो एक्सरे (USG) मेसिनको औपचारिक उद्घाटन गरिनुका साथै बृहत रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ।
स्थानीय स्तरमै गुणस्तरीय तथा आधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ नगर अस्पतालले इको र भिडियो एक्सरे सेवा थप गरेको हो। अबदेखि मुटुसम्बन्धी प्रारम्भिक जाँच (इकोकार्डियोग्राफी) र पेट तथा अन्य अङ्गहरूको भिडियो एक्सरेका लागि दक्षिणकालीका स्थानीयवासीले काठमाडौंका ठूला अस्पताल वा महँगा प्राइभेट क्लिनिक धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ।
विशेष समारोह र मेसिनको उद्घाटन
अस्पताल परिसरमा आयोजित विशेष समारोहमा प्रमुख अतिथि तथा नगर प्रमुख मोहन बस्नेत, उपप्रमुख बसन्ती डंगोल तामाङ्ग र दक्षिणकाली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत राममणी काफ्ले ले संयुक्त्त रूपमा नयाँ इको तथा भिडियो एक्सरे सेवाको उद्घाटन गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मोहन बस्नेतले भने, "नगरबासीलाई आफ्नै आँगनमा सुलभ र प्रविधियुक्त स्वास्थ्य सेवा पुर्याउनु हाम्रो पहिलो प्राथमिकता हो। नगर अस्पतालमा प्रविधि र विशेषज्ञ सेवा थप गर्दै लैजाने अभियानअन्तर्गत नै यी अत्याधुनिक उपकरणहरू सञ्चालनमा ल्याइएका छौं।"
त्यस्तै, उपप्रमुख बसन्ती डंगोल तामाङ्गले अस्पतालको भौतिक तथा प्राविधिक स्तरोन्नतिले महिला, जेष्ठ नागरिक तथा आर्थिक रूपमा विपन्न वर्गलाई प्रत्यक्ष राहत पुग्ने विश्वास व्यक्त गरे।
त्यस्तै, नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत राममणी काफ्ले ले “अबको दिनमा सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिहरुले आ-आफ्नो स्थानबाट मेहनत गरेर दक्षिणकाली नगर अस्पताललाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने नमुना अस्पताल बनाउनतर्फ केन्द्रित रहनुपर्ने भनाइ राख्दै शुभकामना व्यक्त गरे”।
रक्तदानमा उत्साहजनक सहभागिता
स्थापना दिवसकै उपलक्ष्यमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा स्थानीय युवा, जनप्रतिनिधि, अस्पतालका कर्मचारी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। रक्तसञ्चार केन्द्र रेडक्रस को प्राविधिक सहयोगमा सञ्चालित उक्त कार्यक्रममा २१ पिन्ट रगत सङ्कलन भएको अस्पताल प्रशासनले जनाएको छ।
संचालित विशेषज्ञ सेवा र सेवा विस्तारको लक्ष्य
अस्पतालका प्रमुख डाक्टर रोहित कुमार गिरीले नगर अस्पतालबाट प्रवाह गर्दै आएको सेवाको विवरणको जानकारी दिंदै आगामी दिनमा अझ प्रभावकारी र चौबीसै घण्टा भरपर्दो आपतकालीन सेवा प्रदान गर्ने गरी विकास गरिँदै लगिने जानकारी दिए।
कार्यक्रममा वडा अध्यक्षहरू, स्थानीय समाजसेवी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।




