काठमाडौं । नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गरिएको छ ।
संशोधित व्यवस्थाअनुसार अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि दर्ता तथा नामसारी गर्न सकिनेछ ।
पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको जानकारीअनुसार सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिमार्फत दर्ता तथा नामसारीको काम गर्न सक्ने व्यवस्था गरिएको हो ।
यसका लागि वारेसनामा प्राप्त व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्नेछ ।




