शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

नबिल बैंकले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गर्दै ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा

नबिल बैंकले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गर्दै ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा

सजिलो पाना
मंगलवार, श्रावण १९ २०८३
सजिलो पाना
मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौं । नबिल बैंक लिमिटेडले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थी तथा उनीहरूका अभिभावकलाई लक्षित गर्दै काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको छ।

    हबको सोमबार नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट, नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी र प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य तथा वरिष्ठ व्यवस्थापनका पदाधिकारीहरूको समेत उपस्थिति थियो।

    विदेश अध्ययनका लागि जाने विद्यार्थी, अभिभावक, शैक्षिक परामर्शदाता संस्था तथा शिक्षा क्षेत्रसँग सम्बन्धित अन्य सरोकारवालालाई एउटै स्थानबाट बैंकिङ, वित्तीय तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले हब स्थापना गरिएको बैंकले जनाएको छ।

    हबमार्फत विदेश अध्ययनको योजना बनाउने प्रारम्भिक चरणदेखि भर्ना प्रक्रिया, शैक्षिक कर्जा व्यवस्थापन, विदेशी मुद्रा सेवा, अध्ययन अवधिमा आवश्यक बैंकिङ सुविधा तथा अध्ययनपश्चात् कर्जा भुक्तानी व्यवस्थापनसम्मका सेवाहरू एकीकृत रूपमा उपलब्ध गराइनेछ।

    नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले विद्यार्थीलाई आवश्यक वित्तीय पहुँच, मार्गदर्शन र बैंकिङ सहयोग उपलब्ध गराउने उद्देश्यले एजुकेशन हब स्थापना गरिएको बताए। उनका अनुसार शिक्षामा गरिएको लगानी व्यक्ति वा परिवारमा मात्र सीमित नभई समाज र राष्ट्रको भविष्य निर्माणसँग जोडिएको हुन्छ।

    “शिक्षामा गरिने लगानी एक व्यक्तिमा मात्रै नभई समग्र परिवार, समाज र राष्ट्रको भविष्य निर्माणका लागि हो,” चौधरीले भने, “मुलुकको शिक्षालाई थप सुदृढ बनाउनुका साथै भावी पुस्तालाई सशक्त बनाउने उद्देश्यले हबको स्थापना गरिएको हो।”

    उनले यस पहललाई देशभर विस्तार गर्ने योजना पनि सार्वजनिक गरे। उनका अनुसार नबिल बैंकका देशभरका शाखाहरूमा कम्तीमा एउटा एजुकेशन हब काउन्टरको व्यवस्था गरिनेछ।

    नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले नबिल बैंकको एजुकेशन हबले नेपाल–अष्ट्रेलिया सम्बन्धको महत्वपूर्ण आधारका रूपमा रहेको शिक्षा क्षेत्रमा जनशक्तिमा लगानी गर्ने अवधारणालाई प्रतिबिम्बित गरेको बताए।

    उनले विद्यार्थी तथा अभिभावकका लागि पारदर्शी र भरपर्दो प्रणाली आवश्यक रहेको उल्लेख गर्दै हबको अवधारणाले विद्यार्थी, परिवार, शैक्षिक संस्था र वित्तीय सेवा प्रदायकबीच विश्वासको वातावरण निर्माण गर्न सहयोग पुग्ने बताए।

    “विद्यार्थी तथा अभिभावकका लागि एकद्वार सहयोग केन्द्रका रूपमा हब स्थापना गर्ने नबिल बैंकको प्रतिबद्धता व्यवहारिक र समयसापेक्ष छ,” राजदूत अर्न्स्टले भने। उनले विद्यार्थी छनोट तथा प्रमाणीकरण प्रक्रियालाई थप मजबुत बनाउन बैंकले गरेको प्रयासको समेत प्रशंसा गरे।

    नबिल बैंकले विगतदेखि नै आफ्नो देशव्यापी शाखा सञ्जालमार्फत हजारौँ विद्यार्थीलाई शैक्षिक कर्जा तथा विभिन्न बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। 

    तर, विदेश अध्ययनमा जाने विद्यार्थीको आवश्यकता कर्जामा मात्र सीमित नरहेको भन्दै बैंकले अब वित्तीय सेवासँगै विशेषज्ञ सहजीकरण र परामर्शलाई पनि एकीकृत गरेको हो।

    बैंकका सञ्चालक अनन्त पौड्यालले विद्यार्थी तथा अभिभावकको बदलिँदो आवश्यकतालाई सम्बोधन गर्न एजुकेशन हब स्थापना गरिएको बताए। उनका अनुसार हबले शिक्षा कर्जा प्रवाहमा मात्र केन्द्रित नभई विदेश अध्ययनको सम्पूर्ण यात्रामा आवश्यक बैंकिङ सेवा, वित्तीय परामर्श तथा सहजीकरण उपलब्ध गराउनेछ।

    हबमा शैक्षिक बैंकिङसम्बन्धी विशेषज्ञ टोली रहने बैंकले जनाएको छ। उक्त टोलीले ग्राहकलाई छिटो, सहज र विशेषीकृत सेवा उपलब्ध गराउनेछ।

    नबिल बैंकको शैक्षिक कर्जाको प्रमुख विशेषतामध्ये विद्यार्थीको अध्ययन अवधिभर उपलब्ध हुने मोरेटोरियम सुविधा पनि रहेको बैंकले जनाएको छ।

    यस सुविधाअन्तर्गत विद्यार्थीले अध्ययन अवधिमा नियमित कर्जाको किस्ता तिर्नुपर्ने दबाबबाट राहत पाउने र अध्ययन, अनुसन्धान, सीप विकास तथा करियर निर्माणमा केन्द्रित हुन सक्ने बैंकको भनाइ छ।

    बैंकका सिइओ मनोजकुमार ज्ञवालीले नेपाली बैंकिङ क्षेत्रमा यस किसिमको विशेषीकृत सेवा पहिलोपटक उपलब्ध गराउन लागिएको दाबी गरे। 

    अन्तर्राष्ट्रिय शिक्षाप्रतिको बढ्दो आकर्षणसँगै विद्यार्थीको आवश्यकता वित्तीय सहयोगमा मात्र सीमित नरहेकाले हबमार्फत शिक्षा कर्जा, विदेशी मुद्रा, वित्तीय योजना तथा आवश्यक बैंकिङ मार्गदर्शनलाई एकीकृत गरिएको उनले बताए।

    “विदेशमा अध्ययन गर्न चाहनेहरूका लागि यो केन्द्र वान–स्टप सल्युसनका रूपमा काम गर्नेछ,” ज्ञवालीले भने, “विद्यार्थी र अभिभावक दुवैलाई ऋण तथा परामर्श सेवा एकै स्थानबाट उपलब्ध गराउने हाम्रो उद्देश्य हो।”

    बैंकका अनुसार एजुकेशन हब शाखाहरूको विकल्प भने होइन। बैंकको देशव्यापी शाखा सञ्जाललाई थप प्रभावकारी बनाउँदै शिक्षा क्षेत्रसँग सम्बन्धित ग्राहकलाई विशेषज्ञ सेवा, छिटो निर्णय प्रक्रिया र सहज बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले हब स्थापना गरिएको हो।

    नबिल बैंक निजी क्षेत्रको अग्रणी वाणिज्य बैंकमध्ये एक हो। बैंकले देशभरका २६४ शाखा र ३१५ एटीएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ। 

    चार दशकदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नबिलले ग्राहक, समुदाय तथा समग्र अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यसहित ‘बैंकिङ एन्ड बियन्ड’ अवधारणालाई अघि बढाउँदै आएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij