काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले साहलाई निगमको कार्यकारी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आह्वान गरेको खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत उनी कार्यकारी निर्देशक पदमा चयन भएका हुन् । अन्तिम प्रतिस्पर्धामा प्युठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देवलाई पछि पार्दै साहले यो जिम्मेवारी पाएका हुन् ।
नवनियुक्त कार्यकारी निर्देशक साह आयल निगमका अनुभवी अधिकारी हुन्। उनी यसअघि निगमको नायब कार्यकारी निर्देशकका साथै निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीसमेत पाइसकेका थिए ।
यसअघि निगमको कार्यकारी निर्देशक पदमा चण्डिकाप्रसाद भट्ट रहेका थिए। नयाँ सरकार गठन भएसँगै अघिल्लो सरकारले गरेका नियुक्तिहरू रद्द गर्ने निर्णय गरेपछि भट्टले पदबाट राजीनामा दिएका थिए। त्यसपछि रिक्त भएको उक्त पदमा खुल्ला प्रतिस्पर्धाबाट साह नियुक्त भएका हुन् ।




