काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्स्पो २०२६ को अवसर पारेर व्यक्तिगत सवारी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ ।
बैंकका अनुसार नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम शून्य दशमलब पाँच प्रतिशत प्रिमियम थपेर कर्जा प्राप्त गर्न सक्नेछन्। हालको आधारदरअनुसार न्यूनतम ब्याजदर ५.२५ प्रतिशत कायम हुने बैंकले जनाएको छ । आधारदरमा हुने परिवर्तनअनुसार कर्जाको ब्याजदर स्वतः समायोजन हुनेछ ।
विद्युतीय सवारीसाधन खरिद गर्ने ग्राहकका लागि बैंकले थप विशेष योजना ल्याएको छ । नयाँ इभी गाडी खरिद गर्ने ग्राहकले तीन वर्षका लागि ५.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा लिन सक्नेछन् । तीन वर्षपछि भने बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थपिने व्यवस्था गरिएको छ ।
नाइमा अटो एक्स्पोमा बैंकले आफ्नै स्टल सञ्चालन गरी इच्छुक ग्राहकलाई सोही स्थानबाट कर्जा आवेदन दिने सुविधा उपलब्ध गराएको छ । आवश्यक कागजात पूरा गरेपछि अधिकतम तीन दिनभित्र सवारी कर्जाको स्वीकृतिपत्र प्रदान गरिने बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंकले देशभर ३४१ शाखा, ३६६ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।
बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको उल्लेख गर्दै आधुनिक प्रविधि र ग्राहक सेवामा निरन्तर सुधार गरिरहेको जनाएको छ ।




