काठमाडौं। हिमालयन रिइन्स्योरेन्स सञ्चालक समितिको अध्यक्षमा दीपेन्द्रकुमार मिश्र नियुक्त भएका छन्। कम्पनीको असोज १५ मा बसेको सञ्चालक समितिको ९१औं बैठकले रिक्त सञ्चालक अध्यक्ष पदमा मिश्रलाई आगामी वार्षिक साधारणसभासम्मका लागि नियुक्त गरेको हो।
सोही दिन बसेको सञ्चालक समितिको ९०औँ बैठकले संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा सिफारिस भएका तीन जनाको मनोनयन आगामी वार्षिक साधारणसभासम्मका लागि स्वीकृत गरेको थियो।
कम्पनीका अनुसार नेपाल बैंकको तर्फबाट होमबहादुर खड्का, हंसराज हुलासचन्द एन्ड कम्पनीका तर्फबाट नितेश तोदी र कालिका फिनकर्ष प्रालिका तर्फबाट पल्लव श्रेष्ठ सञ्चालकमा मनोनीत भएका छन्।




