काठमाडौं । नेपाल बैंक लिमिटेडका क्रेडिट कार्ड प्रयोगकर्ताले अब शून्य डाउन पेमेन्टमा १८ महिनासम्मको किस्ताबन्दी (ईएमआई) सुविधा पाउने भएका छन् । बैंकले ‘बाइ नाउ पे लेटर’ (बीएनपीएल) प्लेटफर्म ओएनईबीएनपीएल सञ्चालन गर्ने फिनटेक कम्पनी फिनतारा सोलुसन्ससँग सम्झौता गरेसँगै यस्तो सुविधा उपलब्ध हुने भएको हो ।
सम्झौताअनुसार नेपाल बैंकका योग्य क्रेडिट कार्डधारकले ओएनईबीएनपीएलको व्यापारिक सञ्जालमा आबद्ध प्रतिष्ठानबाट वस्तु तथा सेवा खरिद गरी शून्य प्रतिशत डाउन पेमेन्टमा ३ देखि १८ महिनासम्मको किस्तामा भुक्तानी गर्न सक्नेछन् ।
ओएनईबीएनपीएलको सञ्जालमा खुद्रा पसल, मोबाइल तथा ग्याजेट, घरायसी उपकरण, अस्पताल, रिसोर्ट तथा होलिडे प्याकेज प्रदायकलगायत १५० भन्दा बढी अनलाइन तथा अफलाइन व्यापारिक प्रतिष्ठान आबद्ध छन् । यस सुविधाले ग्राहकलाई खरिदका बेला एकमुष्ट ठूलो रकम भुक्तानी गर्नुपर्ने बाध्यता कम गर्ने बैंकले जनाएको छ ।
काठमाडौंस्थित नेपाल बैंकको केन्द्रीय कार्यालयमा दुवै संस्थाका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो ।
नेपाल बैंकका प्रमुख कर्जा अधिकृत प्रदीपकुमार पाठकले फिनटेक कम्पनीसँगको साझेदारीमार्फत क्रेडिट कार्डधारकलाई आधुनिक डिजिटल बीएनपीएल सेवा उपलब्ध गराउने लक्ष्य राखिएको बताए ।
त्यस्तै, फिनतारा सोलुसन्स (ओएनईबीएनपीएल) का कार्यकारी निर्देशक आशिष के. शर्माले देशभर ठूलो ग्राहक आधार भएको सरकारी बैंकसँगको सहकार्यले कर्जामा सहज पहुँच विस्तार गर्न सहयोग पुग्ने बताए । यसले क्रेडिट कार्डमार्फत दैनिक आवश्यक खरिदलाई न्यून लागतमा सहज बनाउने उनको भनाइ छ ।
नेपाल बैंकका रिटेल कर्जा विभाग प्रमुख अर्जुनबहादुर कँडेल र कार्ड विभाग प्रमुख दीपक रेग्मीले ग्राहकका बदलिँदा आवश्यकता सम्बोधन गर्न फिनटेक कम्पनीसँगको साझेदारीमा तत्काल किस्ताबन्दी सेवा उपलब्ध गराउनु महत्त्वपूर्ण रहेको बताए ।




