काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल द्वारा आयोजना हुने बहुप्रतिक्षित “नाडा अटो शो २०२६” का लागि स्टल बुकिङ औपचारिक रूपमा खुल्ला गरिएको छ ।
अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी मानिने यस कार्यक्रमको १८औं संस्करण आगामी भाद्र ९ गतेदेखि १४ गतेसम्म आयोजना हुने भएको हो । नाडाका अनुसार यस वर्षको अटो शोलाई अझ भव्य, आधुनिक र प्रविधिमैत्री बनाउने तयारी भइरहेको छ ।
सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा तथा अन्य सम्बन्धित उद्योगहरूको नवीनतम उत्पादन, प्रविधि र सेवाहरू एउटै छानामुनि प्रस्तुत गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिँदैछ । स्टल बुकिङ जेठ १८ देखि २६ गतेसम्मका लागि खुल्ला गरिएको छ ।
आयोजकका अनुसार देशभरका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक तथा सम्बन्धित संस्थाहरूलाई समयमै आवेदन गरी आफ्नो सहभागिता सुनिश्चित गर्न अनुरोध गरिएको छ । यस प्रदर्शनीमा हजारौं आगन्तुक, उद्योग व्यवसायी, लगानीकर्ता तथा सञ्चारकर्मीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
विशेषगरी यस पटकको अटो शोले नयाँ मोडलका सवारी साधन, इलेक्ट्रिक मोबिलिटी प्रविधि तथा भविष्यमुखी अटो ट्रेन्डहरूलाई अझ व्यापक रूपमा प्रदर्शन गर्ने अनुमान गरिएको छ । आयोजकले यसलाई नेपालकै अटोमोबाइल उद्योगको सबैभन्दा प्रभावशाली प्लेटफर्मको रूपमा विकास गर्ने लक्ष्य लिएको बताएको छ ।



