काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रकै बहुप्रतीक्षित तथा ठूलो व्यावसायिक प्रदर्शनी ‘नाडा अटो शो २०२६’ को १८औँ संस्करण आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ ।
नेपाल अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आयोजना गर्ने प्रदर्शनीलाई यसपटक नाडा स्थापनाको ५०औँ वार्षिकोत्सवका अवसरमा ‘स्वर्ण उत्सव संस्करण’का रूपमा विशेष रूपमा आयोजना गर्न लागिएको जनाएको छ ।
छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीको शीर्ष प्रायोजकमा ‘एचपी लुब्रिकेन्ट्स’ रहेको छ। करिब तीन लाख वर्गफुट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा साना–ठूला गरी २०० भन्दा बढी स्टल रहनेछन् । प्रदर्शनीमा २३ ब्रान्डका पेसेन्जर कार, १७ ब्रान्डका हलुका व्यावसायिक सवारी साधन, १३ ब्रान्डका दुईपाङ्ग्रे सवारी, १० वटा वित्तीय तथा बीमा सेवा प्रदायक तथा ७० भन्दा बढी अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण र अन्य अटोमोबाइल सेवाका स्टल रहनेछन् ।
स्वदेशमै सवारी साधन, लुब्रिकेन्ट, ब्याट्री तथा हेलमेट उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदर्शनीमा ‘मेड इन नेपाल/मेड फर नेपाल प्याभिलियन’ समेत राखिने भएको छ। यसले नेपालमा उत्पादन भइरहेका तथा स्वदेशी बजारलाई लक्षित गरी विकास गरिएका अटोमोबाइलसम्बन्धी उत्पादनलाई प्रवर्द्धन गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ ।
यसपटकको प्रदर्शनीको मुख्य आकर्षणका रूपमा भविष्यको यातायात प्रविधि झल्काउने ‘जी१ ह्युमनोइड रोबोट’ र ‘जीओ२ क्वार्ड्रुपेड रोबोट’को विशेष प्रदर्शन गरिने भएको छ। साथै, विभिन्न ब्रान्डका नयाँ सवारी साधनको उत्पादन लन्च, स्मार्ट मोबिलिटीसम्बन्धी सिम्पोजियम तथा अन्य प्रविधिमैत्री गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ । आगन्तुकका लागि खल्ती एपमार्फत अग्रिम टिकट बुकिङको व्यवस्था गरिएको छ भने टिकटमा ५० प्रतिशतसम्म क्यासब्याकको सुविधा उपलब्ध हुने बताइएको छ ।
आगन्तुकको सहजता र सुरक्षालाई ध्यानमा राख्दै प्रदर्शनी स्थलमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, वित्तीय संस्था तथा अटो कम्पोनेन्ट्सका लागि छुट्टाछुट्टै जोनिङ गरिने भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक सूचना डेस्क सञ्चालन गरिनेछ भने नेपाल पुलिस क्लब र सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा पार्किङको व्यवस्था मिलाइनेछ। प्रदर्शनी स्थलमा प्राथमिक उपचार तथा अपाङ्गतामैत्री ह्विलचेयर सुविधासमेत उपलब्ध गराइने आयोजकले जनाएको छ ।
नेपालको समग्र अटोमोटिभ इकोसिस्टमलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले आयोजना हुन लागेको नाडा अटो शो २०२६ मा करिब दुई लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । नयाँ सवारी साधन, विद्युतीय तथा स्मार्ट मोबिलिटी प्रविधि, अटो पार्टपुर्जा र स्वदेशी उत्पादनलाई एउटै थलोमा प्रस्तुत गर्ने भएकाले यसपटकको प्रदर्शनी नेपालको अटोमोबाइल बजारका लागि महत्वपूर्ण व्यावसायिक मञ्च बन्ने अपेक्षा गरिएको छ ।



