काठमाडौं। एलजी इलेक्ट्रोनिक्स सिंगापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स नेपालसँगको सहकार्यमा नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राख्दै नयाँ घरेलु उपकरणहरूको शृंखला ‘एलजी इसेन्सियल सिरिज’ सार्वजनिक गरेको छ ।
काठमाडौंस्थित भिभान्ता होटलमा आयोजित विशेष कार्यक्रममा उक्त शृंखलाको औपचारिक अनावरण गरिएको हो । “हरेक घरको खुशी, घर–घरमा एलजी” अभियान अन्तर्गत सार्वजनिक गरिएको यस शृंखलाले आधुनिक प्रविधि, उच्च कार्यक्षमता, टिकाउपन तथा किफायती मूल्यको संयोजनमार्फत नेपाली परिवारको दैनिक जीवनलाई अझ सहज बनाउने कम्पनीले जनाएको छ ।
नयाँ शृंखलामा विशेष रूपमा नेपाली घरपरिवारका लागि डिजाइन गरिएका डबल डोर रेफ्रिजरेटर, पूर्ण स्वचालित माथिबाट कपडा हाल्ने धुने मेसिन तथा कोठा शीतलन यन्त्र (एयर कन्डिसनर) समावेश छन् ।
कार्यक्रममा बोल्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एलजी र सीजी इलेक्ट्रोनिक्सबीचको लामो सहकार्यले नेपाली उपभोक्तालाई गुणस्तरीय तथा विश्वसनीय उत्पादन उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले इसेन्सियल सिरिजले नेपाली उपभोक्ताको दैनिक जीवनलाई थप सहज र सुविधाजनक बनाउने विश्वास व्यक्त गरे।
त्यसैगरी, एलजी इलेक्ट्रोनिक्स सिंगापुरका गृह उपकरण समाधान विभागका उत्पादन निर्देशक चाङ्हो हानले नेपाली उपभोक्ताबाट प्राप्त सुझाव र स्थानीय आवश्यकतालाई ध्यानमा राखेर इसेन्सियल सिरिज विकास गरिएको जानकारी दिए । आधुनिक डिजाइन र भरपर्दो कार्यसम्पादनको संयोजनले नेपाली परिवारको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने उनको भनाइ थियो ।




