काठमाडौं । राहदानी विभागले नयाँ प्रणालीमा सेवा रूपान्तरण (माइग्रेसन) गर्ने कार्यका कारण आजदेखि दुई दिन राहदानीसम्बन्धी सेवा बन्द हुने जनाएको छ।
विभागका अनुसार हाल सञ्चालनमा रहेको प्रणालीलाई नयाँ प्रणालीमा स्थानान्तरण गरिने भएकाले आज र भोलि राहदानीसम्बन्धी सबै सेवा स्थगित रहनेछन्।यसअघि विभागले असार १९ गते सार्वजनिक सूचना जारी गर्दै प्रणाली परिवर्तनका कारण दुई दिन सेवा अवरुद्ध हुने जानकारी गराएको थियो।
यद्यपि, विभागमा तयार भइसकेका राहदानीको वितरण भने नियमित रूपमा जारी रहनेछ। मोबाइलमा राहदानी सङ्कलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी बुझ्न सक्ने विभागले जनाएको छ।
विभागले सेवाग्राहीलाई सेवा पुनः सञ्चालन हुने समयसम्म आवश्यक कामको योजना बनाउन तथा असुविधाप्रति समझदारी अपनाउन आग्रह गरेको छ।




