काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी मेटलाइफ नेपाल र त्रिभुवन विश्वविद्यालयको स्कुल अफ माथेमयाटिकल साएनस (एसएमएस) बीच नेपालको भावी एक्चुरी पेशाकर्मी उत्पादन गर्ने उद्देश्यका साथ छात्रवृत्ति कार्यक्रम सुरु गर्न साझेदारी गरिएको छ ।
नेपालको बीमा तथा वित्तीय सेवा क्षेत्रमा एक्चुरियल विज्ञान अत्यन्तै महत्वपूर्ण भए पनि यस क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको छ । यही आवश्यकतालाई सम्बोधन गर्दै सुरु गरिएको यस योग्यता आधारित छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष दई जना उत्कृष्ट विद्यार्थीलाई स्नातक तहको चार वर्षे अध्ययन अवधिभर छात्रवृत्ति प्रदान गरिनेछ ।
यस कार्यक्रममार्फत नेपालमा एक्चुरियल विशेषज्ञता अभिवृद्धि भई ग्राहकहरूको बदलिँदो आवश्यकताअनुसार अझ प्रभावकारी बीमा समाधान विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । छात्रवृत्तिका लागि विद्यार्थीहरूको छनोट पारदर्शी मूल्यांकन प्रक्रियामार्फत गरिनेछ। छनोट भएका विद्यार्थीहरूको चार वर्षे अध्ययन अवधिका प्रत्येक सेमेस्टरको शुल्क मेटलाइफ नेपालले व्यहोर्नेछ ।
सरकारी विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरू लगायत विभिन्न शैक्षिक पृष्ठभूमिका प्रतिभाशाली विद्यार्थीहरूले पनि यस कार्यक्रममा समान अवसर प्राप्त गर्नेछन् । आर्थिक सहयोगसँगै, यस सहकार्यले शैक्षिक संस्था र उद्योगबीच सुदृढ सम्बन्ध स्थापना गर्दै व्यावहारिक सिकाइ, इन्टर्नशिप तथा व्यावसायिक अनुभव हासिल गर्ने अवसर प्रदान गर्नेछ, जसले विद्यार्थीहरूलाई जोखिम व्यवस्थापन र बीमा क्षेत्रका वास्तविक चुनौतीहरूको सामना गर्न सक्षम बनाउनेछ ।
एक्चुरीहरूले बीमा योजनाको विकास, जोखिम व्यवस्थापन तथा दीर्घकालीन वित्तीय स्थायित्व सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । तर नेपालमा यस क्षेत्रमा दक्ष जनशक्तिको संख्या अझै सीमित छ । यस पहलमार्फत मेटलाइफ नेपालले व्यक्तिगत करियर विकासमा मात्र होइन, नेपालको समग्र वित्तीय प्रणालीलाई अझ सुदृढ बनाउन पनि योगदान पु¥याउने विश्वास लिएको छ ।




