काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँ बराबरको दुई महिने निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले साउन १५ गते दुई महिने निक्षेप संकलन उपकरणको बोलकबोल गर्ने सूचना जारी गरेको हो। बोलकबोलमार्फत संकलन गरिने निक्षेपको अवधि ६१ दिनको हुनेछ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणका लागि २५ अर्ब रुपैयाँ बराबरको रकम आह्वान गरिएको छ। बोलकबोल साउन १५ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत मात्र हुनेछ। सोही दिन उपकरण निष्कासन गरिनेछ।
यस उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँको गुणकमा बोल गर्नुपर्ने व्यवस्था गरिएको छ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्। सहभागी संस्थाले आफूले निक्षेप राख्न चाहेको रकम र माग गरेको ब्याजदर (दशमलवपछि चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ।
राष्ट्र बैंकले न्यूनतम ब्याजदर प्रस्ताव गर्ने बोलकर्तालाई प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गर्ने जनाएको छ। समान ब्याजदर भएका बोल रकम कुल निष्कासन रकमभन्दा बढी भएमा समानुपातिक (प्रो–राटा) आधारमा बाँडफाँट गरिनेछ।
स्वीकृत बोलबापतको रकम सम्बन्धित बैंकको राष्ट्र बैंकमा रहेको खाताबाट खर्च कट्टा गरी संकलन गरिनेछ। निक्षेपको साँवा तथा ब्याज भुक्तानी भने आगामी असोज १४ गते गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमा सहभागी बैंक तथा वित्तीय संस्थाले राखेको रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर) गणनामा समावेश गर्न नपाउने तर वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपात गणनामा भने समावेश गर्न सकिने व्यवस्था गरेको छ।
यसअघि पनि राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि पटक–पटक निक्षेप संकलन उपकरणमार्फत तरलता प्रशोचन गर्दै आएको छ। पछिल्लो समय बैंकिङ प्रणालीमा लगानीयोग्य रकम उच्च रहेकाले केन्द्रीय बैंकले बजारबाट तरलता तान्ने उपकरण प्रयोग गरिरहेको छ।




