काठमाडौं । आज बिहानैदेखि काठमाडौंको भृकुटीमण्डप र रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।
नेकपा एमालेको पूर्वनिर्धारित कार्यक्रम र राजावादी समूहहरूको प्रदर्शनलाई लक्षित गर्दै सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति गराइएको छ।
सुरक्षाकर्मीहरूले भृकुटीमण्डप र रत्नपार्क वरपरका क्षेत्रमा ठूलो संख्यामा गस्ती गरिरहेका र सुरक्षा निगरानीलाई अझै थप प्रभावकारी बनाउन ड्रोनको समेत प्रयोग गरिने भएको छ ।
भृकुटीमण्डपमा नेकपा एमालेले बिहान ११ बजे कार्यक्रम आयोजना गरेको छ। यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजावादी समूहहरूले रत्नपार्क क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेका छन्।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राजावादी समूहका लागि दिउँसो साढे दुई बजेपछिको समय तोकिदिएको छ।




