काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएकामध्ये १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, शब भेटिएकामध्ये चितवनमा सबैभन्दा बढी ३६३ जनाको रहेको छ । त्यसैगरी रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ जनाको शव फेला परेको छ ।
फेला परेका शवहरूमध्ये हालसम्म ९८ जनाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको छ ।
विपद्मा परी अझै पनि ४ हजार ९ सय ९६ जना व्यक्तिहरू सम्पर्कविहीन रहेका छन् । बेपत्ता हुनेहरूमा रसुवाका १ हजार ९ सय ६७ र नुवाकोटका २ हजार ३ सय ४० नेपाली नागरिकका साथै १०० जना सुरक्षाकर्मी तथा कर्मचारी र ५८९ जना विदेशी नागरिक रहेका छन् ।
हालसम्म १३ हजार ३ सय ९६ जनालाई सकुशल उद्धार गरिएको प्राधिकरणको तथ्यांक छ । हालसम्म ६ हजार ६ सय ७२ जना घाइतेको उपचार भइसकेको छ । विस्थापितहरूका लागि रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा ३ हजार ५ सय ३३ जनाले आश्रय लिइरहेका छन् ।
विपद् व्यवस्थापनका लागि कूल २१ हजार ४ सय २ जना सुरक्षाकर्मी कार्यक्षेत्रमा खटिएका छन् । उद्धार र राहतका लागि नेपाली सेनाको हेलिकप्टरले हालसम्म १ हजार १ सय ५७ पटक उडान भरेको छ । राहत सामग्री अन्तर्गत खाद्यान्न, जेनेरेटर, हाइजिन किट र विद्यार्थी किटहरू प्रभावित क्षेत्रमा पुर्याउने काम भइरहेको छ ।
नेपाल सरकारले राहत स्वरूप रसुवा र नुवाकोट जिल्लालाई १/१ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ पालिकाहरूलाई १३ करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ । प्रभावित क्षेत्रमा विद्युत र सञ्चार सेवा पुनःस्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । रसुवामा ७८ प्रतिशत र नुवाकोटमा ९६ प्रतिशतभन्दा बढी घरधुरीमा विद्युत सुचारु भइसकेको छ भने नेपाल टेलिकम र एनसेलका अधिकांश टावरहरू सञ्चालनमा आएका छन् ।
स्वास्थ्य मन्त्रालयले प्रभावितहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै १५० जना मनोसामाजिक परामर्शदाताहरू पनि परिचालन गरेको छ । प्राधिकरणले बेपत्ता भएकाहरूको पहिचान र तथ्याङ्क रुजु गर्ने कार्य भइरहेको जानकारी दिँदै थप विवरणका लागि आफ्नो वेबसाइट र फेसबुक पेज हेर्न आग्रह गरेको छ ।




