काठमाडौं। ग्लोबल आईएमई बैंकले दुई दशकको व्यावसायिक यात्रा पूरा गर्दै वित्तीय आकार विस्तारसँगै हरित तथा दिगो बैंकिङलाई आगामी दिनको व्यावसायिक वृद्धिको महत्वपूर्ण आधार बनाउने रणनीति अघि सारेको छ। बैंकले २०औं वार्षिक साधारणसभामार्फत वित्तीय उपलब्धिसँगै हरित कर्जा तथा दिगो वित्तका योजनालाई समेत अगाडि बढाउने तयारी गरेको हो।
आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म बैंकको कुल निक्षेप ७ सय अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। कुल कर्जा लगानी ४ सय ७६ अर्ब ८४ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ। त्यस्तै, चुक्ता पुँजी ३८ अर्ब ११ करोड ६० लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकले ६ अर्ब ३ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो। एक वर्षमा बैंकको निक्षेप २१.८० प्रतिशत र कर्जा लगानी ८.२२ प्रतिशतले बढेको छ।
बैंकले आगामी १६ असोज २०८३ मा २०औं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभामा सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पेस गरिनेछ। सभाबाट प्रस्ताव पारित भएपछि लाभांश वितरण गरिने बैंकले जनाएको छ।
दुई दशकमा बैंकले आफ्नो सेवा सञ्जालसमेत उल्लेख्य विस्तार गरेको छ। हाल बैंकका ३ सय ४१ शाखा, ३ सय ६६ एटीएम, १ सय ४१ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर सञ्चालनमा छन्। विदेशमा तीन प्रतिनिधि कार्यालय रहेको बैंकले विभिन्न माध्यमबाट देशभर एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा दिइरहेको जनाएको छ।
हरित कर्जालाई व्यावसायिक अवसर बनाउने
ग्लोबलले वातावरणीय तथा सामाजिक पक्षलाई बैंकिङ व्यवसायसँग जोड्दै हरित वित्तलाई दीर्घकालीन व्यावसायिक अवसरका रूपमा विकास गर्ने नीति लिएको छ। दिगो बैंकिङसम्बन्धी गतिविधिलाई संस्थागत बनाउन बैंकले दिगो बैंकिङ समिति गठन गरिसकेको छ भने दिगो बैंकिङसम्बन्धी प्रतिबद्धतासमेत सार्वजनिक गरेको छ।
बैंकले वातावरणमैत्री आवास र ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्न हरित आवास कर्जा विस्तार गर्ने योजना बनाएको छ। नवीकरणीय ऊर्जामा वित्तीय पहुँच बढाउन छतमा सौर्य ऊर्जा जडानका लागि कर्जा प्रवाह गर्ने तथा कृषि क्षेत्रमा जलवायु जोखिम सम्बोधन गर्न जलवायु–मैत्री कृषि कर्जा विस्तार गर्ने तयारी गरेको छ।
त्यस्तै, साना तथा मझौला उद्यमलाई हरित व्यवसायमा रूपान्तरण गर्न हरित एसएमई कर्जाजस्ता वित्तीय उत्पादन विस्तार गर्ने बैंकको योजना छ। बैंकले हरित कर्जालाई वातावरण संरक्षणको विषयमा मात्र सीमित नगरी व्यावसायिक जोखिम व्यवस्थापन र दीर्घकालीन लगानी अवसरसँग जोडेको जनाएको छ।
कार्बन उत्सर्जन मापनमा पनि ध्यान
दिगो वित्ततर्फ अघि बढ्दै बैंकले आफ्नो वित्तीय गतिविधिबाट हुने कार्बन उत्सर्जन मापन तथा व्यवस्थापनमा समेत ध्यान केन्द्रित गरेको छ। बैंकले कार्बन लेखांकनसम्बन्धी अन्तर्राष्ट्रिय पहलमा आबद्ध हुँदै वित्तीय गतिविधिको कार्बन प्रभाव मापन गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। बैंकले वातावरणीय प्रभाव तथा जलवायुसम्बन्धी जानकारी समेटिएको प्रतिवेदन सार्वजनिक गर्ने अभ्याससमेत थालेको छ। आगामी दिनमा हरित ऋणपत्र, दिगो ऋणपत्र तथा जलवायु कोषजस्ता दिगो वित्तीय उपकरण विकास गर्ने योजना बैंकको छ।
वित्तीय पहुँच विस्तार, डिजिटल क्षमता अभिवृद्धि र सेवा सञ्जाल विस्तारपछि बैंकले अब हरित तथा दिगो वित्तलाई व्यवसाय विस्तारको अर्को आधारका रूपमा अघि बढाउन खोजेको देखिन्छ। दुई दशक पूरा गरेको बैंकका लागि आगामी चरणमा वित्तीय वृद्धिसँगै वातावरणीय तथा सामाजिक पक्षलाई बैंकिङ व्यवसायमा कसरी एकीकृत गर्छ भन्ने विषय महत्त्वपूर्ण हुनेछ।




