काठमाडौं । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली निर्विरोध निर्वाचित भएका छन्। संघको २१औँ वार्षिक साधारणसभाले थकालीलाई आगामी दुई वर्षका लागि अध्यक्ष चयन गरेको हो।
कात्तिक १३ गते शुक्रबार भक्तपुरको नगरकोटस्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा सम्पन्न साधारणसभाले थकालीको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति पनि सर्वसम्मत रूपमा चयन गरेको छ। दिनेश थकालीले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।
नयाँ कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका दिपेश लम्साल चयन भएका छन्।
त्यस्तै सदस्यमा मुक्तिनाथ विकास बैंकका तारामान मानन्धर, लुम्बिनी विकास बैंकका सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका रबिन सिजापति, ग्रिन डेभलपमेन्ट बैंकका हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका अनन्तकुमार चापागाईं निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष थकालीले विकास बैंकहरूको साझा हित संरक्षण र बैंकिङ क्षेत्रका समसामयिक समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। उनले बैंकहरूको सुशासन, जोखिम व्यवस्थापन, डिजिटल सेवा विस्तार, कर्जा गुणस्तर सुधार र कर्जा असुलीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। सदस्य बैंकहरूबीच अनुभव तथा ज्ञान आदानप्रदान बढाउने र नियामक निकायसँग समन्वय गरेर अघि बढ्ने उनको प्रतिबद्धता छ।
साधारणसभाले कार्य समितिको तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८२/०८३ को वित्तीय विवरण तथा आर्थिक वर्ष २०८३/०८४ को अनुमानित आय व्यय पारित गर्ने, चालू आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गरेको छ।




