शुक्रवार, कार्तिक १४ गते २०८३    

शुक्रवार, कार्तिक १४ गते २०८३    

एनपीएलमा हरेक चौका र छक्काबापत रेड पान्डा संरक्षणमा योगदान गर्दै इसेवा

एनपीएलमा हरेक चौका र छक्काबापत रेड पान्डा संरक्षणमा योगदान गर्दै इसेवा

सजिलो पाना
शुक्रवार, कार्तिक १४ २०८३
सजिलो पाना
शुक्रवार, कार्तिक १४ २०८३
  • काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मार्फत दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तु रेड पान्डा (हाब्रे) को बासस्थान संरक्षणमा सहयोग गर्ने भएको छ ।

    ‘एभ्री बाउन्ड्री काउन्ट्स’ अभियानअन्तर्गत इसेवाले एनपीएलमा प्रहार हुने प्रत्येक छक्काबापत २ हजार रुपैयाँ र प्रत्येक चौकाबापत १ हजार रुपैयाँ योगदान गर्नेछ । यस अभियानमा करसहित अधिकतम १० लाख रुपैयाँसम्म योगदान गरिनेछ ।

    एनपीएलको आधिकारिक टिकटिङ साझेदारसमेत रहेको इसेवाले रेड पान्डा नेटवर्क र रेड पान्डा नेटवर्क नेपालसँगको सहकार्यमा उक्त अभियान सञ्चालन गर्न लागेको हो । यसका लागि तीनै संस्थाबीच त्रिपक्षीय साझेदारी भएको छ ।

    अभियानअन्तर्गत बाउन्ड्रीबापत सङ्कलित रकम रेड पान्डाको प्राकृतिक बासस्थान पुनर्स्थापना तथा स्थानीय समुदायका लागि रोजगारी सिर्जना गर्न उपयोग गरिनेछ । 

    अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयूसीएन) को रातो सूचीमा सङ्कटापन्न प्रजातिका रूपमा सूचीकृत रेड पान्डाको संरक्षणका लागि बासस्थानको सुरक्षा र पुनर्स्थापना महत्त्वपूर्ण मानिन्छ ।

    यस अभियानमार्फत रेड पान्डाको बासस्थान रहेका इलाम र पाँचथरका सामुदायिक वन क्षेत्रमा सन् २०२७ को जुन–जुलाईमा संरक्षण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

    कार्यक्रमअन्तर्गत स्थानीय प्रजातिका बिरुवा रोप्ने, रोपिएका बिरुवाको संरक्षण तथा हेरचाह गर्ने र वन्यजन्तुमैत्री वातावरण पुनर्स्थापना गर्ने कार्य गरिनेछ । 

    यस क्रममा करिब १० हेक्टर क्षतिग्रस्त बासस्थान पुनर्स्थापना गर्ने, १० हजार स्थानीय प्रजातिका बिरुवा रोप्ने र स्थानीय समुदायका लागि करिब ६०० श्रमदिन बराबरको पारिश्रमिकसहितको रोजगारी सिर्जना गर्ने लक्ष्य छ । रोजगारीका अवसरमा महिलालाई प्राथमिकता दिइनेछ ।

    अभियानबारे जानकारी दिँदै इसेवाका प्रमुख रणनीति अधिकृत रवि शाक्यले नेपाल प्रिमियर लिग देशभरका क्रिकेटप्रेमीका लागि ठूलो उत्सव भएको बताए । खेलको यही उत्साहलाई प्रकृति संरक्षणमा रूपान्तरण गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।

    “नेपाल प्रिमियर लिग देशभरका क्रिकेटप्रेमीका लागि एउटा ठूलो उत्सव हो । एनपीएलमा प्रहार हुने हरेक चौका र छक्काबापत रेड पान्डाको बासस्थान संरक्षणमा सघाउँदै खेलको उत्साहलाई प्रकृति संरक्षणमा रूपान्तरण गर्ने प्रयास गरेका छौँ,” शाक्यले भने ।

    उनले यस अभियानमार्फत खेलकुदको सकारात्मक प्रभावद्वारा जैविक विविधताको संरक्षण र स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पुर्‍याउने लक्ष्य रहेको बताए । क्रिकेटप्रेमीको साझा उत्सवले संरक्षणको क्षेत्रमा समेत अर्थपूर्ण योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरे ।

    रेड पान्डा नेटवर्कका कार्यकारी निर्देशक आङ फुरी शेर्पाले क्रिकेटको लोकप्रियतालाई रेड पान्डा संरक्षणसँग जोड्न इसेवासँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । यस सहकार्यले संरक्षण र समुदायको हितमा काम गर्न थप प्रोत्साहन मिलेको उनको भनाइ छ ।

    त्यस्तै, रेड पान्डा नेटवर्क नेपालका अध्यक्ष डा. शैलेन्द्रबहादुर थकालीले क्रिकेटको ऊर्जालाई रेड पान्डाको भविष्यसँग जोडेकोमा इसेवाप्रति आभार व्यक्त गरे । उनले यस सहकार्यले रेड पान्डाको बासस्थान संरक्षण र हरित रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

    इसेवाका अनुसार यस अभियानले खेलकुदमार्फत जैविक विविधता संरक्षणमा योगदान पुर्‍याउनुका साथै संरक्षणमा स्थानीय समुदायको सहभागिता बढाउन र जीविकोपार्जनका अवसर सिर्जना गर्न सहयोग गर्नेछ ।

    एनपीएल अवधिभर प्रत्येक चौका र छक्काबाट जम्मा भएको योगदानको विवरण इसेवाको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ । 

    डिजिटल भुक्तानीको दायरालाई वातावरण संरक्षण र समुदायको हितसँग जोड्दै जिम्मेवार व्यावसायिक अभ्यासलाई निरन्तरता दिने इसेवाले जनाएको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij