काठमाडौं । नबिल बैंकले वातावरणीय संरक्षण र स्थायित्वलाई केन्द्रमा राखी विभिन्न नयाँ बैंकिङ सेवा तथा उत्पादन सार्वजनिक गरेको छ ।
बैंकका अनुसार यी सेवा तथा योजनाहरूले कार्बन उत्सर्जन नियन्त्रण, नवीकरणीय ऊर्जाको प्रवर्द्धन तथा हरित वित्त प्रणालीमा उल्लेखनीय योगदान पुर्याउने लक्ष्य लिएको छ ।
बैंकले ल्याएको ‘नाबिल डिजिओ बचत खाता’ मा न्यूनतम शेषराशि १० हजार रुपैयाँ राख्नुपर्नेछ । यस खाता नेपाली नागरिक, विदेशमा बसोबास गर्ने नेपाली (एनआरएन) र गैर–नाफामूलक संस्थाहरूले खोल्न सक्ने बैंकले जनाएको छ ।
अर्धवार्षिक न्यूनतम औसत ५० हजार रुपैयाँ पुगेका खातावालाको नाममा रूख रोप्ने व्यवस्था गरिने बैंकले जनाएको छ । साथै जम्मा रकमको एक निश्चित प्रतिशत वातावरणीय संरक्षणका लागि स्थायी पहलहरूमा खर्च गरिने बैंकको दाबि छ ।
खाताका ग्राहकलाई पहिलो वर्ष भिसा डेबिट तथा क्रेडिट कार्ड सदस्यता शुल्क, मोबाइल र इन्टरनेट बैंकिङ निःशुल्क तथा लकर सुविधामा २५ प्रतिशत सम्मको छुट दिइने बैंकले जनाएको छ ।
बैंकले स्थायित्वका मापदण्ड समेटिएको ‘नाबिल स्थायी आवास ऋण’ पनि ल्याएको छ । बेस रेट प्लस १ प्रतिशत देखि २.७५ प्रतिशत सम्मको ब्याज दरमा उपलब्ध उक्त योजना अन्तरगत हुने छ ।
उक्त योजनाको ऋणको अवधि २० वर्षसम्म हुने बैंकले जनाएको छ । ऋणको न्यूनतम उमेर १८ वर्ष र अधिकतम ७० वर्ष तोकिएको छ । वर्षा जल संचय, सौर्य ऊर्जा, अपशिष्ट व्यवस्थापन, हरियाली बगैंचा लगायतका कम्तीमा तीन मापदण्ड पूरा गरेको स्वघोषणा गर्नुपर्ने बैंकले जनाएको छ ।
ऋणको भुक्तानी इएमआई प्रणालीबाट गर्न सकिनेछ भने निर्माण अवधिका लागि १२ महिनासम्म मोरेटोरियम सुविधा पनि उपलब्ध गराउने बैंकले जनाएको छ । पहिलो वर्ष ग्राहकलाई २ लाख रुपैयाँ सम्मको निःशुल्क क्रेडिट कार्ड सेवा प्रदान गरिने बैंकले जनाएको छ ।




