काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि गोल्छा ग्रुपले सहकार्य अगाडि बढाएको छ।
नक्सालमा बिहीबार एक कार्यक्रम आयोजना गर्दै एनपिएल र गोल्छाले आगामी सिजनका सहकार्य अगाडि बढाएका हुन्। गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र क्यानका सचिव पारस खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
सम्झौताअनुरूप एनपिएलका इमर्जिङ प्लेयर, सर्वाधिक विकेटकर्ता र सर्वाधिक रनकर्ताले समान एउटा पल्सर मोटरसाइकल प्राप्त गर्ने छन्। त्यसबाहेक अन्य आर्थिक पक्ष भने खुलाइएको छैन।
निर्देशक गोल्छाले लामो समयदेखि खेलकुदमा जोडिरहेको र एनपिएलसँग जोडिनु सुखद पक्ष रहेको बताए। सचिव खड्काले यो सम्झौताले क्रिकेट विकासमा योगदान पुर्याउने आशा राखे।
एनपिएलको दोस्रो सिजन आगामी मंसिर १ देखि २७ सम्म हुँदै छ। क्यानको आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।
जनकपुर बोल्टस पहिलो सिजनको च्याम्पियन हो। जनकपुरले फाइनलमा सुदूरपश्चिम रोयल्स हराएको थियो।




