काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूसँग भएको स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको विवरण सम्पत्ति विवरणमै उल्लेख गरेको दाबी गरेका छन् ।
सम्पत्ति शुद्धीकरणका अभियुक्त दीपक भट्ट लगायतसँग व्यावसायिक साझेदार भएको भेटिएपछि विवादमा तानिएका सुधनले स्पष्टीकरण दिँदै कुनै पनि सेयर तथा सम्पत्ति नलुकाएको दाबी गरेका हुन् । उनले मन्त्रिपरिषद्को वेबसाइटमा राखिएको सम्पत्ति विवरणमा सबै कुरा स्पष्ट भएको बताएका छन् ।
सेयर लुकाएको भन्ने आरोपको खण्डन गर्दै उनले स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी आफ्नो सम्पत्ति विवरणमा रहेको ‘२ करोडभन्दा बढीको धितोपत्र बजारमा कारोबार हुने सेयर’ कै समूहभित्र समेटिएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘खुला रूपमा २ करोडभन्दा बढी सम्पत्ति देखाउने मान्छेले २५ लाख लुकाउँदैन, यो लुकाएको होइन, वर्गीकरणको विषय मात्र हो ।’
उनले आफ्नो सम्पत्ति विवरणमा होप होल्डिङ्स, लगुम प्रिपियम अपार्टमेन्ट्स प्रा.लि. र एडभेन्चर भिल्ला प्रा.लि. मा भएको सेयर उल्लेख गरेका छन् भने अरू २ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर उल्लेख गरेका छन् ।




