काठमाडौं । प्रतिनिधि सभाका सांसद हर्क साम्पाङले संसद् बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर कडा आक्रोश पोखेका छन् । आजको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद साम्पाङले कार्यपालिका प्रमुख संसद् र जनताप्रति जवाफदेही हुनुपर्ने संसदीय लोकतान्त्रिक मान्यता उल्लंघन भइरहेको आरोप लगाए।
पटक-पटक माग गर्दा र सभामुखको ध्यानाकर्षण गराउँदा समेत प्रधानमन्त्री सदनमा उपस्थित नभएको भन्दै उनले सभामुखको रुलिङ क्षमतामाथि समेत प्रश्न उठाए। बैठकमा आफ्नो कडा धारणा राख्दै सांसद साम्पाङले भने :
“हामीले प्रधानमन्त्रीज्यूको उपस्थितिको माग गर्दै आइरहेका छौं। सभामुखज्यूले उहाँलाई रुलिङ गरेर ल्याउन सकिराख्नु भएको छैन। त्यसो भएको कारणले गर्दा आजको सदनमा के माग गर्छु भने, प्रधानमन्त्रीज्यूलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने मलाई यो सदनबाट निष्कासन गरेर यहाँहरूले यो सदनको गरिमा बढाइदिन म अनुरोध गर्दछु। यी दुईटामध्ये म एउटा माग गर्दछु।”
सांसद साम्पाङले संसद्को गरिमा र सार्वभौमसत्ता बचाउनका लागि कि त प्रधानमन्त्रीले तत्काल उभिएर जवाफ दिनुपर्ने, कि त प्रश्न उठाउने सांसदलाई नै निष्कासन गर्नुपर्ने दुई सूत्रीय कडा अडान राखे । उनको यस कडा वक्तव्यपछि संसद् बैठकमा कूटनीतिक र राजनीतिक दबाब बढेको छ।




