काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा आइतबार दलहरूबाट उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्री भएपछि भारतले मात्रै नेपालको जग्गा मिचेको नभई नेपालले पनि भारतको जग्गा मिचेको थाहा पाएको बताएका हुन् ।
भारत र चीनले नेपालको लिम्पियाधुरा हुँदै मानसरोवर यात्रा सुरू गरेको विषयलाई सन्दर्भ बनाउँदै श्रम संस्कृति पार्टीका सांसद आरेन राईले भारतले नेपालको लिपुलेक र लिम्पियाधुराको विषयमा प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए ।
उक्त प्रश्नमा जबाफ दिँदै प्रधानमन्त्री शाहले यस्तो अभिव्यक्ति दिँदै "टेबल टक" गर्ने सोचिरहेको बताए ।
'यो विषय कुटनीतिक रूपमा टेलब टक गर्ने सोचिरहेका छौँ । तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ — भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ,' प्रधानमन्त्री शाहले भने, 'यो कुरा अस्ति भर्खर थाहा भयो । हामीले मिचेका छौँ । उहाँहरूले मिच्नुभएको छ । बसेर साथीका रूपमा समाधान गर्ने सोच राखेका छौँ ।'




