सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

भदौ २३ र २४ का घटना सरकार ढाल्न रचिएको षड्यन्त्र थियो: ओली

भदौ २३ र २४ का घटना सरकार ढाल्न रचिएको षड्यन्त्र थियो: ओली

सजिलो पाना
बुधवार, जेठ २० २०८३
सजिलो पाना
बुधवार, जेठ २० २०८३
  • काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाहरू सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारलाई विस्थापित गर्न रचिएको पूर्वनियोजित षड्यन्त्र भएको बताएका छन् ।

    नेकपा(एमाले)सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशालामा अध्यक्ष ओलीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सार संक्षेपलाई उद्धृत गर्दै ती घटनाहरू प्रायोजित र आपराधिक क्रियाकलापको हिस्सा भएको दाबी गरे ।

    संवैधानिक र लोकतान्त्रिक रूपमा बलियो तथा जननिर्वाचित बहुमत प्राप्त सरकारलाई कानूनी र संसदीय प्रक्रियाबाट ढाल्न नसकेपछि अवैधानिक र आपराधिक मार्ग अपनाइएको ओलीको तर्क छ ।

    उनले ती घटनाहरूको पृष्ठभूमिमा लामो समयदेखि तालिम र तयारी गरिएको समेत उल्लेख गरे ।

    ओलीका अनुसार आगो लगाउने विधि, पेट्रोल बम निर्माण र प्रज्वलनशील पदार्थलाई थप घातक बनाउने जस्ता प्राविधिक तयारीहरू पहिले नै गरिएका थिए । यो कुनै आकस्मिक घटना नभई सुनियोजित रूपमा अघि बढाइएको उनको भनाइ छ ।

    ओलीले लोकप्रिय नेताहरूलाई अलोकप्रिय बनाउन र उनीहरूका विरुद्ध झुटा तथा बनावटी आरोपहरू लगाउने प्रपञ्च समेत सोही योजनाको हिस्सा भएको जिकिर गरे ।

    उनले भने, ‘गत भाद्र २३ र २४ गतेको घटनालाई कसैले आन्दोलन भन्छन्, कसैले क्रान्ति । गर्नेहरूले त क्रान्ति भन्ने नै भए । युवाहरू तथा नवयुवाहरूको हत्याको प्रपञ्च गराउने क्रियाकलापलाई पनि उनीहरूले क्रान्ति भन्ने नै भए । आपराधिक क्रियाकलापको आयोजना आफैँ गर्ने, काँक्रो खाइसकेपछि बियाँ अर्काको गालामा टाँसेर आरोप लगाउने काम उनीहरूले त गर्ने नै भए । तर त्यो एउटा षड्यन्त्रपूर्ण, पूर्वनियोजित घटना थियो । यो मेरो भनाइ होइन । राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सारसंक्षेपमा भाद्र २३ र २४ गतेको घटना पूर्वनियोजित, पहिल्यै षड्यन्त्र गरिएको तथा प्रायोजित घटना थियो भन्ने कुरा उल्लेख गरिएको छ । त्यो यथार्थ हो ।’

    उनले अगाडि थपे, ‘त्यो षड्यन्त्र हाम्रा विरुद्ध त थियो नै । हामी संवैधानिक र लोकतान्त्रिक हिसाबले बलियो अवस्थामा थियौँ । हामी जनताबाट निर्वाचित बहुमत प्राप्त सरकारमा थियौँ र त्यो सरकार अत्यधिक बहुमतको थियो । त्यस सरकारलाई संवैधानिक, कानूनी तथा संसदीय बाटोबाट अनेक पटक ढाल्ने र ध्वस्त पार्ने प्रयास गरियो । तर त्यो सम्भव भएन । सम्भव नभएपछि अवैधानिक र आपराधिक मार्गबाट सरकारलाई विस्थापन गर्ने षड्यन्त्र भयो ।’

    ओलीका अनुसार त्यसका निम्ति पहिलेदेखि नै तालिमहरू सञ्चालन गरिएका थिए । आगो कसरी लगाउने, अत्यन्त प्रज्वलनशील वस्तुहरू कसरी बनाउने, पेट्रोल बम कसरी तयार गर्ने र छिटो आगो लाग्ने विधि कसरी अपनाउने भन्ने जस्ता विषयमा प्रशिक्षण दिइएको उनले बताए । राष्ट्रव्यापी रूपमा आगलागीका घटना गराउने योजना बनेको र गुगलको माध्यमबाट कुन–कुन नेताका घर कहाँ छन् भन्ने जानकारी सङ्कलन गरिएको उनले उल्लेख गरे ।

    उनले थपे, ‘संसद भवन, सिंहदरबार र सर्वोच्च अदालत त सबैले देखेकै थिए । विभिन्न व्यापारिक प्रतिष्ठान पनि देखिएकै थिए । तर नेताहरूका घर र सम्पत्तिहरू गल्लीभित्र हुने भएकाले तिनीहरूलाई गुगलमार्फत पहिचान गरी जानकारी बाँडिएको थियो । यो कुरा आकस्मिक भएको होइन, अघिल्ला दिनहरूदेखि नै तयारी भइरहेको थियो । लोकप्रिय नेताहरूलाई अलोकप्रिय बनाउन झुटा आरोपहरू सिर्जना गरेर जनमत प्रभावित पार्ने योजना पनि यसैको हिस्सा थियो ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij