मंगलवार, भाद्र २ गते २०८३    

मंगलवार, भाद्र २ गते २०८३    

आइएमई लाइफ आजबाट दशौं वर्षमा प्रवेश, मुनाफाको आधारमा पहिलो कम्पनी बन्न सफल

आइएमई लाइफ आजबाट दशौं वर्षमा प्रवेश, मुनाफाको आधारमा पहिलो कम्पनी बन्न सफल

सजिलो पाना
सोमवार, भाद्र १ २०८३
सजिलो पाना
सोमवार, भाद्र १ २०८३
  • काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालनको नौ वर्ष पूरा गर्दै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट दशौं वर्षमा प्रवेश गरेको छ। २०७४ साल भदौ १ गतेदेखि औपचारिक रूपमा जीवन बीमा व्यवसाय शुरु गरेको कम्पनीले नौ वर्षको यात्रामा व्यवसाय विस्तारसँगै आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार मुनाफाका आधारमा देशका बीमा कम्पनीहरूमध्ये पहिलो स्थान हासिल गर्न सफल भएको छ।

    कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष आइएमई लाइफले ५८ करोड ४२ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो १४ वटा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी हो। गत आवमा १४ जीवन बीमा कम्पनीको कुल खुद नाफा करिब ५ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको तुलनामा समग्र क्षेत्रको नाफा १० प्रतिशतभन्दा बढी घटेको अवस्थामा आइएमई लाइफले भने आफ्नो नाफा करिब स्थिर राख्दै अग्रस्थान लिन सफल भएको हो।

    कम्पनीको वित्तीय विवरण हेर्दा नाफाभन्दा व्यवसाय विस्तारको गति अझ उल्लेख्य देखिन्छ। खुद बीमाशुल्क संकलन अघिल्लो आर्थिक वर्षको ५ अर्ब ४९ करोड ४९ लाख रुपैयाँबाट बढेर गत आर्थिक वर्षमा ७ अर्ब ४६ करोड ३० लाख रुपैयाँ पुगेको छ। यसमा करिब ३५.८२ प्रतिशतको वृद्धि भएको छ। कुल बीमाशुल्क संकलन पनि ५ अर्ब ६५ करोड २५ लाख रुपैयाँबाट बढेर ७ अर्ब ७३ करोड ६९ लाख रुपैयाँ पुगेको छ।

    नयाँ व्यवसायमा पनि कम्पनीले उल्लेख्य छलाङ मारेको छ। सिंगल प्रिमियम सहितको फर्स्ट इयर प्रिमियम ३ अर्ब ५ करोड ७० लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्षको १ अर्ब ९६ करोड ९७ लाख रुपैयाँको तुलनामा करिब ५५ प्रतिशत बढी हो। नवीकरण बीमाशुल्कसमेत ३ अर्ब ६८ करोड २८ लाख रुपैयाँबाट बढेर ४ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ पुगेको छ। व्यवसाय विस्तारसँगै कम्पनीको सक्रिय बीमालेख संख्या पनि बढेको छ। २०८२/८३ को असार मसान्तसम्म ५ लाख १८ हजार ९३ वटा बीमालेख चालु अवस्थामा थिए। अघिल्लो वर्ष यस्तो संख्या ४ लाख ७४ हजार २५५ थियो। समीक्षा अवधिमा कम्पनीले २ लाख ६४ हजार ५४९ वटा नयाँ बीमालेख जारी गरेको छ।

    आइएमई लाइफको दीर्घकालीन वित्तीय आधारका रूपमा रहेको जीवन बीमा कोष पनि एक वर्षमा करिब ३९ प्रतिशतले बढेर १८ अर्ब २७ करोड ४२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै कुल लगानी १७ अर्ब ६६ करोड ६४ लाख रुपैयाँबाट बढेर २३ अर्ब २८ करोड ७७ लाख रुपैयाँ पुगेको छ भने कुल सम्पत्ति २६ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ पुगेको छ। बैंकिङ प्रणालीमा ब्याजदर घटेका कारण लगानी आम्दानीमा दबाब परेको वर्ष पनि कम्पनीको लगानी तथा कर्जाबाट प्राप्त आम्दानी १ अर्ब ३८ करोड २१ लाख रुपैयाँ पुगेको छ। यद्यपि व्यवसाय विस्तारसँगै खर्च र दाबी भुक्तानी पनि बढेका छन्। गत आर्थिक वर्ष कम्पनीले बीमितलाई १ अर्ब ४६ करोड ५९ लाख रुपैयाँ कुल दाबी तथा लाभ भुक्तानी गरेको छ।

    कम्पनीको नेतृत्वतर्फ अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा सञ्चालक समिति रहेको छ। सञ्चालक समितिमा उषा ढकाल, बिनोद के.सी., सिताराम थापा, संदीप अग्रवाल र सुनील कुमार पोखरेल रहेका छन्। व्यवस्थापनको नेतृत्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार खड्काले गरिरहेका छन्। डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा खिलेन्द्र पौडेल, अण्डरराइटिङ हेडमा सुदीप राणालगायतको व्यवस्थापन टोली रहेको छ।

    कम्पनीले आफ्नो वार्षिकोत्सव सदाझैं विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सञ्चालन गरेर मनाउने जनाएको छ। कम्पनीले देशैभरीका शाखा कार्यालयहरूमा कुनै न कुनै सामाजिक परोपकारको कार्यक्रम सञ्चालन गरिने जनाएको हो। यसअघि पनि कम्पनीले आफ्नो वार्षिकोत्सव रक्तदान, स्वास्थ्य शिविर, बीमा सम्बन्धी जनचेतनामूलक (प्रभातफेरी) जस्ता कार्यक्रमको आयोजना गरेर मनाउँदै आएको थियो।

    २०७४ साल भदौ १ गतेदेखि शुरु भएको यात्रा आज दशौँ वर्षमा प्रवेश गर्दा आइएमई लाइफले आफूलाई केवल व्यवसाय विस्तार गर्ने कम्पनीका रूपमा मात्र नभई वित्तीय प्रदर्शनमा पनि प्रतिस्पर्धी जीवन बीमा कम्पनीका रूपमा स्थापित गरेको छ। नवौं वार्षिकोत्सवको अवसरमा कम्पनीले बीमित र लगानीकर्तालाई आगमी दिनहरूमा उझै उच्च प्रतिफल दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij